महिला फुटबलमा नयाँ लिडरहरु उत्पादन गर्ने अस्मिताका यस्ता छन् योजना

0
11

गोलकिपिङ प्रशिक्षक अस्मिता खवासको फुटबलसँगको यात्रा दुई दशक पुग्न लागेको छ।

फरक समयमा भिन्न भूमिका निर्वाह गरेकी उनी बाँकी जीवन पनि फुटबलमै बिताउनेमा दृढ छिन्।

खेलाडी हुँदै प्रशिक्षकसम्म आफ्नो करियरलाई खेल क्षेत्रमै अगाडी बढाउने पुरुष खेलाडीहरु थुप्रै छन्। तर फुटबललाइ नै जीवन मानेर अगाडी बढ्ने महिला निकै कम छन्।

तिनैमध्ये एक हुन् अस्मिता खवास।

सन् २००२ मा खेलाडीको रुपमा फुटबल यात्रा सुरु गरेकी अस्मिताको यात्रा केही हदसम्म व्यवस्थापनमा र अहिले गोलकिपर प्रशिक्षकको रुपमा सक्रिय छ।

खेलाडीको रुपमा विश्राम लिएपनि फुटबलप्रतिको आकर्षण भने उनमा पटक्कै घटेन।

फरक ढंगले फुटबलमा सक्रिय हुने उद्देश्यका साथ २०१४ मा एएफसी ‘सी’ लाइसेन्स कोचिङ कोर्समा सहभागी भएकी उनी सहजै उत्तीर्ण भइन्।

फुटबल खेलको अनुभव र लगावकै कारण गोलकिपर प्रशिक्षकका रुपमा केन्द्रित हुने उनको चाहना थियो।

गतवर्ष उनलाई त्यो अवसर पनि जुर्यो। एएफसी गोलकिपिङ लेभल वान सर्टिफिकेट कोचिङ कोर्समा भाग लिइन् र उत्तिर्ण पनि भइन्। गोलकिपिङ कोर्स उत्र्तिण गर्ने १८ मध्ये उनी एक्ली महिला थिइन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उनीमाथि लगातार विश्वास गर्दै आएको छ। त्यसैले उनले गोलकिपर प्रशिक्षकका रुपमा उमेर समूह (१४, १८ र १९ वर्ष) देखि राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने मौका पाएकी छन्।

पछिल्लो पटक नेपाली टोलीले पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्दा उनी टोलीमा सहभागी थिइन्।

‘एन्फाले विश्वास गरेर मलाई पहिले उमेर समुहको जिम्मेवारीबाट परिपक्व बनाएर राष्ट्रिय टोलीको जिम्मेवारी दिएको थियो। मैले त्यसलाइ अवसर र चुनौती दुवैको रुपमा स्वीकार गरेँ,’ उनले भनिन्।

‘अहिले त फुटबल नशा जस्तै भइसक्यो। खेलाडी हुँदा देशको लागि खेल्ने भन्ने हुन्छ। प्रशिक्षक भएपछि खेलाडीको भन्दा बढी जिम्मेवारी हुने अनभुव गरेँ,’ फुटबल प्रतिको आकषर्णका पछाडिको कारण बताउँदै भनिन्, ‘मैले सक्ने बेलासम्म फुटबलमा नै सक्रिय रहन्छु।’

सफल प्रशिक्षक बन्न आइपर्ने चुनौतिबारे आफू जानकार रहेको बताउँदै उनले त्यसका लागि आफैले पनि नयाँ कुरा सिक्ने र सिकाउनेमै तल्लिन रहने बताइन्।

‘फुटबलमा एएफसीले नयाँनयाँ नियम ल्याइरहेको हुन्छ। नयाँ टेक्निकल कुरा आइरहन्छन्, प्रतिस्पर्धा छ,’ उनले योजना सुनाइन्, ‘अहिलेसम्म एएफसी–ए लाइसेन्स पास गर्ने महिला प्रशिक्षक कोहि छैन। मलाई पहिलो बन्ने इच्छा छ। गोलकिपिङमा पनि अर्को लेभलको कोर्स गर्न मन छ।’

प्रशिक्षकका रुपमा उमेर समूह र राष्ट्रिय टोलीका खेलाडीलाई प्रशिक्षण दिँदा फरक शैली अपनाउनु पर्ने अस्मिताको बुझाई छ।

 

‘बढी अनुभव बटुलिसकेका राष्ट्रिय टोलीका खेलाडीको बुझ्ने स्तर पनि फरक हुन्छ,’ उनले भनिन, ‘प्रशिक्षणमा मैले उमेर समूह हुँदै अघि बढेको हुँदा नयाँदेखि अनुभवी सबै प्रकारका खेलाडीको ‘स्प्रिट’ बुझेर प्रशिक्षण दिनसक्छु भन्ने लाग्छ।’

एन्फाले पनि आफूलाई त्यसकै आधारमा अवसर दिएको उनको बुझाई छ।

अहिले सिक्न चाहनेका लागि धेरै अवसर रहेको अस्मिताको ठहर छ।

‘मैले टीभीमा हेरेर सिक्ने मौका पनि पाइन। मैले सिनियर दाइहरुसँग टिप्स लिएर सिक्थँे,’ पुरानो दिन सम्झिदै उनले भनिन, ‘हामीले खेल्दा एउटा खेलमा आएको बल कसरी रोक्ने र कसरी गोल खाएँ भनेर आफैले मनन गरेर अर्को खेलमा सम्झेर खेल्नुपथ्र्याे।’

अहिले एन्फाले पनि गोलकिपिङको कोर्सहरु दिनेगर्छ। ‘ती कोर्सले खेलाडीलाई धेरै कुरा सिक्न सघाउँछ भने मैले पनि आफूहरुले भोगेको जस्तो अन्यौल अहिलेका खेलाडीले भोग्न नपरोस भनेर सिकाउने गरेको छु,’ उनले भनिन्।

खेलाडीका रुपमा होस् वा प्रशिक्षकका रुपमा देशलाई उपाधि दिलाउनु नै दुवैको मुख्य उद्देश्य हुनेगर्छ। अस्मितालाई पनि त्यस्तै लाग्छ।

सागमा होस् वा साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबलमा सधै उपविजेताको छवि बनाउँदै आएको छ।

अस्मिता खेलाडी हुँदा होस् वा अहिले प्रशिक्षक हुँदा होस् नेपालसामु भारत नै मुख्य बाधक रहँदै आएको छ।

अस्मिताले खेलाडीका रुपमा ११औं साग खेल्दा होस् वा १३औं सागमा गोलकिपर प्रशिक्षकका रुपमा टोली सम्हाल्दा होस्, नेपाली टोली दुवैपटक भारतसँग नै पराजित भएको थियो।

अस्मिता भन्छिन्, ‘महिला फुटबलमा भारत नै हाम्रो लागि मुख्य चुनौती हो। आशा गरौं कुनै दिन भारतलाई हराएर हामी साग र साफको च्याम्पियन बन्नेछौं।’

 

फुटबल यात्रा
झापाकी अस्मिताले सन् २००२ देखि २०१२ सम्म खेलाडीको रुपमा खेलिन्। त्यो बेलामा उमेर समुह भन्ने थिएन सिधै राष्ट्रिय टोली नै हुन्थ्यो।

‘जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी हुँ। त्यो बेलामा छनोटका लागि काठमाडौ बोलाइएको थियो,’ राष्ट्रिय टोलीमा छनोट भएको क्षण स्मरण गर्दै पूर्व गोलकिपर अस्मिताले भनिन्, ‘पहिलो पटक नै टोलीमा परेपछि निकै उत्साह थपियो।’

राष्ट्रिय टोलीमा परेलगत्तै उनले सशस्त्र प्रहरीको टोली एपीएफसँग सम्झौता गरेर ४ वर्ष खेलिन्।

अस्मिताले खेल जीवन त्यो बेलामा सुरु गरिन् जुन समय महिलाहरु पनि फुटबल खेल्छन् भन्ने उनैलाइ पनि राम्रो जानकारी थिएन।

‘मेरो दाइ र मामाहरु फुटबल खेल्ने, म उहाँहरु खेलेको हेरेर बस्थेँ,’ उनले फूटबलसँग जोडिनुको पारिवारिक कारण खोतलिन्, ‘हाम्रो परिवारमा सबैलाई खेल मन पर्ने। तर १२, १३ वर्ष हुदाँसम्म महिलाहरुले फुटबल खेल्छन् भन्ने मलाई थाहा थिएन।’

उनलाई दाजुले फुटबल खेल्न निकै पे्ररित गरे।

दाइले नै केटीहरु पनि फुटबल खेल्छन्, तिमी पनि खेल भनेपछि उनमा उत्साह थपियो। सुरुमा दाइहरुसँगै खेलिन्।

अग्लो जिउडालकी उनले गोलकिपर बन्ने सल्लाह पाइन्।

उनकै जिल्ला झापामै राष्ट्रिय टोलीका लक्ष्मी खड्का र विनिता शेर्पाले महिला टोली तयार गर्दै थिए।

आफ्ना दाजुहरु मार्फत् अस्मिता उनीहरुको सम्पर्कमा पुगिन्।

फुटबल खेल्न सुरु गरेको वर्ष दिनमै उनी राष्ट्रिय टोलीमा परिन्। २००२ मा नर्वेमा भएको प्रतियोगिताबाट उनको अन्तर्राष्ट्रिय खेलजीवन सुरु भयो।

‘नर्वेसँग खेलमा अन्तर्राष्ट्रिय खेलको डेब्यू गर्दा सानै थिएँ। २००४ मा चीनमा अन्डर–१९ उमेर समूहमा खेल्न गएँ तर म भने निकै सानी थिएँ। त्यो बेलामा उमेर समुहको खेल त्यति प्रचलित भइसकेको थिएन तर हामीले त्यहाँ चाहिँ यु–१९ प्रतियोगिता खेलेका हौं,’ उनले भनिन्।

राष्ट्रिय टोलीमा रहँदा अन्य खेलाडीसँगको सामिप्यता उनलाई अहिले पनि विशेष लाग्छ। भन्छिन्, ‘गंगा गुरुङ, जमुना गुरुङ, अनु लामालाइ धेरै सम्झन्छु। हाम्रो निकै राम्रो बोन्डिङ थियो। लक्ष्मी पौडेल र उषा भन्डारीलाई पनि त्यत्तिकै सम्झिरहेको हुन्छु।’

खेल जीवनमा उनलाई सबैभन्दा बढी सम्झना सन् २०१० को ११औं दक्षिण एसियाली खेलकुद (साग) को आइरहन्छ।

बगंलादेशमा भएको त्यो सागमा फाइनल पुगेको नेपाली टोली भारतसँग पराजित भएको थियो।

सागमा महिला टोली पहिलो पटक सहभागी भएको थियो। त्यहि साग उनको खेल जीवनको भने अन्तिम प्रतियोगिता थियो।

ब्याक पेन बढ्न थालेपछि डाक्टरको सल्लाहमा उनले खेल जीवन बिट मार्ने निर्णय लिएकी थिइन्।

‘त्यतिबेला अहिले जस्तो सन्यासको विशेष औपचारिक घोषणा गर्ने भन्ने हुन्थेन,’ गोलकिपरका विशेष पीडा सुनाउँदै उनले भनिन्, ‘गोलकिपरले डाइभ हान्नुपर्ने, उफ्रनु पर्ने। दुखाई बढ्दै गएपछि मैले खेल छोड्नुको विकल्प भएन।’

टिम गेम भएकाले फुटबलमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण भए पनि गोलकिपरको जिम्मेवारी चुनौतीपूर्ण हुने अस्मिताको अनुभव छ।

‘गोलकिपरलाई हेर्ने दृष्टिकोण पहिलाभन्दा फरक भएको छ,’ उनले भनिन्, ‘पहिला जसको गल्तीले गोल खाए पनि गोलकिपरलाई दोष दिइन्थ्यो, तर अहिले किपरले आफ्नो गल्तीले हो वा अरु खेलाडीको गल्तीका कारण गोल खाएको भन्ने दर्शक आफैंले पनि सजिलै थाहा पाउँछन्। हाम्रो बेलामा धेरै गाली खाइन्थ्यो।’

 

खेलाडी उत्पादन सपना
उनको सपना छ– नेपालमा बढीभन्दा बढी गोलकिपर तयार पार्ने।

उनी भन्छिन्, ‘मैले राष्ट्रका लागि पोष्ट सम्हालेँ। नयाँ खेलाडी ल्याउन सके टिम अझै बलियो हुन्छ। गोलकिपरलाई टोलीको लिडर पनि भनिन्छ त्यस्तै नयाँ नयाँ लिडर (गोलकिपर) ल्याउने सपना देखेको छु।’

खेलाडी उत्पादन गर्ने उनको लक्ष्य भने सोचे जसरी अघि बढ्न सकेको छैन। स्थानीय खेलाडी उत्पादनको सपना लिएर उनले झापामा सनसाइन ट्रेनिङ सेन्टर पनि सञ्चालन गर्दै आएकी छिन्।

केहि वर्षअघि क्लबले महिलाहरुका लागि स्थानीय स्तरको प्रतियोगिता पनि आयोजना गर्याे। एन्फाले उमेर समूह र राष्ट्रिय टोलीमा लगातार जिम्मेवार दिन थालेपछि उनले जिल्लामा सुरु गरेको प्रशिक्षण र प्रतियोगिता भने अहिले हुन सकेको छैन।

उनलाई प्रशिक्षण दिने प्रतियोगिता आयोजना गर्ने पुरानो कामलाई निरन्तरता दिने इच्छा पनि अझै मरेको छैन।

LEAVE A REPLY