अखबारका प्रमुख शीर्षकले देखाउने मार्ग र इतिहासको राजमार्ग कहिल्यै समान बिन्दुमा हुँदैन

0
54

अखबारका प्रमुख शीर्षकले देखाउने मार्ग र इतिहासको राजमार्ग कहिल्यै समान बिन्दुमा हुँदैनन्। इतिहासको राजमार्ग शासकका क्रिया-प्रतिक्रिया, विवेक-सनक, संघर्ष-सम्झौता एवं स्वार्थ-सम्बन्धले निर्धारण गर्छन् भने सञ्चारमाध्यमका समाचार शीर्षकले तय गर्ने मार्ग कहीं न कहीं सम्पादक वा सञ्चारकर्मीको आग्रहले प्रेरित हुन्छ। इतिहास हमेसा दिशा परिवर्तनको यात्रामा हुन्छ भने सञ्चारमाध्यम इतिहासको परिवर्तित दिशा पत्ता लगाउने कम्पासको भूमिकामा हुन्छ।

सञ्चारमाध्यम (मिडिया) ले इतिहासलाई दिशा-निर्देश गर्न नखोज्ने होइन, तर निर्णायक घडीमा परिस्थिति यस्तो भइदिन्छ कि इतिहास कुन बाटो दौडिँदै छ भन्ने कुरा पत्ता लगाउन सम्पादकको ‘राडार’ र रिपोर्टरको ‘एन्टिना’ दुवैले आंशिक मात्रै काम गर्छन् र अर्धसत्य मात्रै पत्ता लगाउँछन्। अनि त्यही आधारमा विश्लेषण गर्छन् र समाजले त्यसैलाई तथ्य ठान्छ। तर कालान्तरमा राष्ट्रका शासन-प्रशासन र राजनेताका नीति-निर्णयले अर्कै बाटो समातिसकेका हुन्छन्।

वर्तमान नेकपाभित्रको सत्ता-संघर्षमा पनि मिडिया विश्लेषणले तिनै नियति भोग्नुपरेको छ। प्रचण्डप्रतिको पूर्वाग्रह र उनको अनिवार्यताको आग्रह होस् वा केपी ओलीको पतन र उत्थानको कामना वा माधव नेपालको उदयको चाहना र समाप्तिको प्रार्थनै किन नहोस्, यी सबै खेलमा मिडियाको पूर्वनिर्धारित ‘रेडिमेड’ आग्रह प्रस्टसँग आफ्ना ‘हेडलाइन’मा छरिएकै छन्। कुनै मिडिया लेख्छन्- माधव नेपालसँग दुवै अध्यक्षसँग सौदाबाजी गर्ने ‘बार्गेनिङ टुल्स’ छन्, अब उनी निर्णायक बन्दै छन्।

कुनैले लेख्छन्- प्रचण्डलाई न्यूनीकरण गर्दा हलचल उत्पन्न हुन्छ र उनी समीकरण आफ्ना पक्षमा नपारेसम्म अनेक चलखेल गर्छन्। कुनैले लेख्छन्- ओली नगद आफू लिन्छन र अरूलाई कपाली तमसुक थमाइदिन्छन्। कतिले अब वामदेव निर्णायक भनेर ठोकुवा गर्छन्। तर जब संघर्ष सम्झौतामा पुग्छन् र स्वार्थ–सम्बन्ध लाभको ‘अडिटिङ’ र ‘सेयरिङ’बाट सत्ता-खेलाडी सन्तुष्टि वा असन्तुष्टिको निष्कर्षमा पुग्छन्, तब मिडियाका विश्लेषण, भविष्यवाणी र अनुमान मात्र होइन, तिनका विश्वसनीय सूत्रको ‘विश्वसनीयता’ समेत पानीमा भिजेको कागजजस्तै भइसकेका हुन्छन्।

त्यसो भए के हो त नेकपाभित्रको शक्ति-सन्तुलन र समीकरणको उतारचढाव?

चाहेर वा नचाहेर यतिबेला केपी ओली पार्टी र सत्ताको केन्द्रमा छन्, उनलाई नेकपाको पंक्तिले सहजै अस्वीकार गर्न सक्ने अवस्था छैन। नेकपाको माथिल्लो तहका सबैलाई यो पनि प्रस्ट थाहा छ कि उनी अब धेरै लामो समय शक्तिमा रहने छैनन्। शीर्ष तहमा एउटा खुसीयाली पनि छ– ओलीको शक्ति कमजोर बन्दै जाँदा सौभाग्य जुर्ने अवसर प्राप्त हुँदै छ। उनी आलोचित र विवादित बन्दै जाँदा कार्यकर्ता पंक्ति संरक्षण खोज्दै हामीसामु आइपुग्ने छ भनेर प्रतीक्षा गरिरहेका नेता पनि छन्, जो कार्यकर्ता लाइन लागेर आफूकहाँ आइपुग्ने आशा पालेर बसेका छन्।

तर तिनमा कार्यकर्ताका लागि आकर्षक ‘अफर’ वा प्रस्ताव जरुरी हुन्छ, साथै त्यसका विश्वसनीय आधार पनि आवश्यक छ भन्ने कुराको हेक्का राखेको देखिँदैन। पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्व चौतर्फी आलोचना भइरहेको छ, तर फेरि पनि उनका निकटस्थ उनलाई तत्काल छाड्ने मनस्थितिमा छैनन्, किनकि ओली– कार्यकर्ताको संरक्षणमा बालुवाटारबाटै बोलिदिन सक्छन्, अन्य नेता स्थायी समितिकै सदस्यको संरक्षण गर्नुपर्ने बेला आएछ भने पनि हिचकिचाउँछन्। त्यसरी गलत पात्र र प्रवृत्तिको संरक्षण गर्नु सही हो वा गलत, त्यो बहसको विषय बनिरहला, तर ओली समर्थकलाई त्यस्ता बहसले अहिलेसम्म कुनै फरक पारेको छैन।

बास्कोटा, ढकाल र बस्नेत यतिबेला अरू कसैको क्याम्पमा हुन्थे भने मिडियाका हेडलाइन, सामाजिक सञ्जालका स्टाटस, कमेन्ट र सेयरिङसँगै उनीहरूले पार्टीको साधारण सदस्य नरहने गरी कम्तीमा १ वर्ष निष्कासन हुनुपथ्र्यो र जतिसुकै सक्रिय भए पनि निर्णायक तहमा आउने सम्भावना रहँदैनथ्यो। तर ओलीले उनीहरू सबैलाई संरक्षण मात्रै गरेका छैनन्, उनीहरूको भूमिका थप निर्णायक बनाउन एकहोरो रूपमा लागिपरेकै छन्। ओलीको यही ‘बोल्ड’ संरक्षकत्वकै कारण ओली क्याम्पले उनको अन्तिम अवस्थामा पनि प्रतिरक्षा गरिरहने देखिन्छ। हालै मात्र डा. बाबुराम भट्टराइले ओलीलाई ‘भष्मासुर’ तथा उनको पार्टीले ओलीका विश्वास-पात्रलाई सांसद अपहरणको गम्भीर आरोप लगाएका छन्।

सामाजिक सञ्जाललाई आधार मानेर ओलीको लोकप्रियता ‘सर्भे’ गर्ने हो भने अधिकतर मानिस उनलाई मन पराउँदैनन्। किनकि उनको सरकारले सुशासन कायम गर्न नसकेको आरोप छ र केही मन्त्रीलाई समेत अपारदर्शिताको आरोप लागेको छ। यस्तो अवस्थामा उनका प्रतिद्वन्द्वीले पार्टी कार्यकर्ताको पंक्ति आफूसँग आउने आशा गर्नु अनौठो होइन। तर यो आशा सच्चाइबाट केही टाढा छ।

नेकपाभित्र ओलीविरोधी खेमामा उनको क्याम्प छाडेर नेता-कार्यकर्ताको सामूहिक वा व्यक्तिगत पलायनको अपेक्षा गर्न थालिएको झन्डै १ वर्ष हुन थालिसक्यो, तर त्यस्तो देखिएन। हो, राजनीतिक रणनीतिमा केही नेता-कार्यकर्तामा लचिलोपन देखिएको छ, तर उनीहरूमा अहिल्यै आफ्नो क्याम्प छाडेर अन्यत्र पलायन हुने संकेत देखापरिसकेका छैनन्। यसका कारणमा पार्टी त्रिशंकुमा छ। पार्टीभित्र लाइन र उपलाइन छन्। कतिपय संगठन लामो समयदेखि राजनीतिक लकडाउनको सिकार भइरहेका छन्। नेतामा शक्ति-संघर्षको अध्याय सुरु भएको छ, यो कहिले सुषुप्त त कहिले उत्कर्षमा पुग्ने गरेको छ।

एक प्रकारले नेकपा हिलोमा भासिएको कारजस्तै भएको छ, जसलाई बेला–बखत ओली–प्रचण्डले धकेल्ने गर्छन्। यस्तो अवस्थामा गाडीलाई गन्तव्यमा पुर्‍याउन दुवै चालकलाई कार्यकर्ताले सहयोग पनि स्वाभाविकै हो। एउटा सच्चाइ के हो भने नेता-कार्यकर्ताको विशाल पंक्ति केवल ओलीमा मात्रै निर्भर रहन चाहँदैन। तर उनीहरूको बाध्यता के छ भने यो पार्टीमा त्यस्तो कुनै अर्काे नेता छैन, जसले सडकबाट टिपेर साधारणलाई असाधारण हैसियत प्रदान गर्न सकोस् र असाधारण भनिएकालाई साधारण तरिकाले सडकमा हुत्याइदिन सकोस्। कम्युनिस्ट कार्यकर्ताले विधि, पद्धति, विधान, संविधान, आदर्श, मूल्य/मान्यता र सिद्धान्तका लागि लडाइँ गर्नुपर्ने हो, तर त्यसको प्रचलननै नभएपछि मानिस निराश भएर ‘बोल्ड’ संरक्षण गर्ने व्यक्तिको खोजी गर्दारहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण नेकपामा देखिन्छ।

रोजाइमा ओली किन?
नेकपाको राजनीतिभित्र ओली क्याम्प एउटा ‘वन स्टप सप’ हो। त्यहाँ हरेक चिज उपलब्ध छन्। त्यसलाई एउटा ‘फ्रि मार्केट’ पनि भन्न सकिन्छ, जहाँ हरेक गर्न छुट छ। हरेक चिज उपलब्ध हुनुको मतलब एकाइ समितिदेखि सचिवालयसम्मका सदस्य, जो बालकोटको सहज पहुँचमा छन्, उनीहरूका लागि सबै चिज उपलब्ध छन् र हरेक गर्न छुटको मतलब, जो तलदेखि माथिसम्म सहज सम्पर्कमा छन्, जसका लागि विधि–पद्धति खुकुला छन्।

यसको मतलब के होइन भने ओली क्याम्पका नेता–कार्यकर्ता अर्को क्याम्प छिर्न तयार छैनन्। यसअघि पनि क्याम्प परिवर्तनका प्रयास भएका छन्, जतिबेला उनको पंक्तिमा कसैले असुरक्षित महसुस गर्छ, ऊ अर्को क्याम्पको बाटो तय गर्छ। जब ओलीले त्यो चाल पाउँछन्, तब उनी फेरि रोक्छन्, यसको सिलसिला लामै छ।

केपी ‘प्लस वन’
अब ओली क्याम्पका नेता-कार्यकर्तामा एउटा नयाँ सूत्र लागू हुँदै छ, त्यो हो- केपी ‘प्लस वन’ अर्थात् ओली क्याम्पमा जमिरहने तर एउटा खुट्टा टेक्ने ठाउँ अर्को कुनै क्याम्पमा पनि बनाइरहने। यसको सपाट अर्थ हो– ओलीको उत्तराधिकारीको दाबी गर्ने वा त्यो ल्याकत राख्ने नेता त्यस क्याम्पमा छैनन्। त्यसकारण त्यो क्याम्पका कार्यकर्ताले ओलीबाहेक अर्को कुनै खेमासँग नरम नीति अपनाइ राख्नेछन्। यसको फाइदा प्रचण्ड र माधव नेपालले लिन सक्छन्। जस्तोः कांग्रेसमा किसुनजीको पंक्ति तान्ने होड कोइराला र देउवाबीच देखिएको थियो। नेकपाको हकमा ओली पंक्ति तान्न प्रचण्ड र नेपालबीच त्यो होड देखिन सक्छ, समय अलि लम्बिएला त्यो बेग्लै कुरा हो।

कतिपय राजनीतिक विश्लेषकको बुझाइ छ के छ भने ओली सिंगापुरको अस्पताल र काठमाडौंको ग्रान्डीमा हुँदा वा अध्यादेश आसपासका दुई–चार काण्डवरिपरि प्रचण्ड-माधवले ओली पंक्तिलाई आफ्नो लाइनमा उभ्याउनुपथ्र्यो। तर अब उनीहरूका हातबाट त्यो अवसर गुमिसकेको छ। नयाँ अवसरका लागि एउटा कोर्स पार गर्नुपर्छ। तर राजनीतिमा लाइन जति छिटो बन्छन्, त्यति नै छिटो भत्किन्छन् भन्ने कुरा पनि प्रचण्ड–माधवलाई थाहा भएकैले होला, उनीहरूले त्यस्तो कच्चा र अराजनीतिक खेल खेलेनन् भन्ने अनुमान गर्न सकिन्छ। तर हैरानीको विषय के हो भने ओली बिरामी पर्दाबाहेक विभिन्न समयमा पनि प्रचण्ड-माधव जब ओलीभित्रका र बाहिरका पंक्तिलाई आफूमा ल्याउने प्रयास गर्छन्, तब फेरि पनि त्यस्ता अवसर उनीहरूका हातबाट फुत्किने गरेका छन्।

LEAVE A REPLY