उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले आफ्नो दाबी मन्त्रीमा नभई सभामुख

0
136

संघीय संसदको प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले आफ्नो दाबी मन्त्रीमा नभई सभामुखमा रहेको बताएकी छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने तयारी गरिरहेका बेला उनले मन्त्रीमा आफ्नो दावी नरहेको प्रस्ट पारिन्।

‘सभामुखमा मेरो दावी स्वभाविक हो’, नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘मन्त्रीमा मेरो दावी छैन र बन्दिनँ पनि।’

यस विषयमा तिहारलगत्तै आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताइन्।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा कृष्णबहादुर महराले पाँच वर्षे कार्यकाल पूरा नगर्दै असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। महरा २०७४ साल फागुन २६ गते सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

महराको राजीनासँगै रिक्त सभामुखमा पनि आफ्नै पार्टीबाट बनाउन नेकपाले तुङबाहाम्फेलाई ‘मन्त्री बनाउने सर्तमा’ उपसभामुखबाट राजीनामा गराउने तयारी थालेको छ।

संवैधानिक बाध्यताका कारण एउटै दलले सभामुख र उपसभामुख दुबै पद लिन नपाउने अबस्थामा उनी सभामुखको स्वभाविक दाबेदार रहेको बताउँछिन्।

‘सभामुख रिक्त भएपछि ‘क्लेम’ गर्ने उपसभामुखले हो, त्यसमा पनि नेकपाले सभामुख राख्ने भएपछि म नै स्वभाविक दाबेदार हुँ’, उनले भनिन्।

डेढ वर्षसम्म उपसभामुख भएर काम गरेको अनुभवका आधारमा पनि सभामुख पदमा आफूले राम्रो काम गर्न सक्ने उनको दाबी छ।

नयाँ पदका लागि (मन्त्री) बन्नुभन्दा सभामुख बन्न आफू इच्छुक रहेको भन्दै उनले भनिन, ‘मलाई नयाँ फिल्ड भन्दा पुरानै फिल्डमा काम गर्न रुचि छ, जसलाई सहज रुपले काम गर्न सक्ने मैले देखेको छु।’ उनले उपसभामुखबाट राजीनामका गराएर मन्त्री बनाउने विषयमा नेकपाका नेताहरुले आफूसँग परामर्श र छलफल नगरेको बताइन्।

सभामुख महराले पद त्याग गरेपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटार पुगेर पटक–पटक भेट गरे पनि मन्त्रीको प्रस्ताव भने नआएको उनको भनाइ छ।

सभामुख रिक्त भएपछि आफूले प्रधानमन्त्री ओलीसँग पटक–पटक भेट गरेको स्वीकार गर्दै उपसभामुख तुङबाहाम्फेले सभामुख चयनबारे भने कुरै नभएको जिकिर गरिन । ‘प्रधानमन्त्रीलाई मैले वालुवाटार पुगेरै भेटेको छु, नेपालखबरसँग उनले भनिन तर, रिक्त सभामुख चयनका बारेमा कुरै भएको छैन ।’

प्रधानमन्त्री ओलीले समेत आफूलाई अहिलेसम्म कुनै आश्वासन दिएर उपसभामुखबाट राजीनामा गर्न आग्रह नगरेको उनको भनाई छ।

यता प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले भने तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराइ मन्त्री बनाउने र सभामुखमा अरु नै नेता पठाउने सहमति गर्दै छलफल तीव्र बनाएका छन्।

सभामुख पद रिक्त भएसँगै केही कानूनहरु प्रमाणीकरण हुन नसकेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उपसभामुख तुम्बाहाम्फेले जानकारी दिइन्।

‘विधेयक प्रमाणिकरण कसरी गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीसहित संसद सचिवालयमा समन्वय र छलफल भइरहेको छ, छिट्टै संसदको हिउँदे अधिवेशन बोलाउने विषयमा सहमति पनि भएको छ, मंसिरको पहिलो हप्ता मै संसद बैठक बस्न सक्नेछ’ उनले भनिन्।

LEAVE A REPLY