गणतन्त्रमा पानी चल्दैन, जातीय कारणले चौरजहारी नरसंहार हुन्छ!

0
32

लेखक केदार शर्माले रुकुमको चौरजहारीमा ६ जना दलित किशोर र रुपन्देहीकी दलित किशोरीमाथि गरिएको बर्बर अधर्म बारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘म लज्जित छु। आत्मग्लानिले पिल्सिएको छु। किनभने म ‘राति केटासित भेटिएकी’ भनेर १५ वर्षकी दलित किशोरीलाई मर्न बाध्य बनाउने र माथिल्लो जातकी केटीसित प्रेम गरेको भनेर दलित युवकलाई कुटेर मार्ने घटिया समाजको सदस्य हुँ। यी दुवै घटनाका अपराधीलाई कठोर दण्ड हुनैपर्छ।’

शर्माको १३ जेठको ट्वीट हो, यो। चौरजहारीमा ६ जना दलित किशोर माथि जनप्रतिनिधिसहितको कथित उच्च जातिको संगठित समूहले आक्रमण गरी आत्मदाह गर्न बाध्य पारेको बर्बर जातीय ज्यादतीका कारण गैरदलित समुदायका शर्मा जस्ता बौद्धिक अगुवाले लज्जा अनुभूति गर्नु समय बदलिएको संकेत हो। हुन पनि आजको चेतना र सभ्य समाजमा गणतन्त्रको उत्सव मनाइरहँदा मान्छेलाई जात, रंग, क्षेत्र वा लिंगका आधारमा भेदभाव गरेर ज्यान लिने कल्पना गर्न सकिन्छ? कम्बोडियामा पोलपोटले गर्ने जस्तो जघन्य अपराध रुकुममा गरिएको छ। कम्बोडियामा पोलपोटले गर्ने जस्तो जघन्य अपराध रुकुममा गरिएको छ। माओवादीको जनयुद्धका वेला दलित हलियालाई तिनका कार्यकर्ताले मुसलले पेलेर यातना दिएका थिए, अछामको चाल्सामा। लहानका चमार जातिलाई सिनो नफालेका कारण समाजले पटक–पटक नाकाबन्दी र बहिष्कार गरेको थियो। २०६८ देखि २०७७ सम्ममा जातका कारण १७ जना दलितको हत्या गरिएको छ। यो शृंखलामा चौरजहारी काण्डले दलितमाथिको अत्याचारको सीमा नाघेको छ। अन्तरजातीय प्रेम र विवाह प्रकरणमा समाज नै उर्लेर एकै पटक ३ किशोरको हत्या, तीन बेपत्ता। चौरजहारी बर्बरतालाई महाभारतका शकुनि र दुर्योधनहरूले सहन्थे होलान्, चेतनशील वर्गले कदापि स्वीकार गर्न सक्दैन।

त्यसैले यसपटक गैरदलित पंक्तिले चौरजहारी काण्डमा लयबद्ध भएर आवाज उठायो, देश र समाज मात्र होइन संसारलाई प्रष्ट सन्देश दियो– नेपालमा अब छुवाछूत विरुद्धको मोर्चामा गैरदलितहरू पनि खडा भएका छन्। जातीय भेदभाव र दलितमाथिको अत्याचार सभ्य समाजलाई स्वीकार्य छैन।

चौरजहारी काण्डको विरुद्ध कैयौं मिडिया, सामाजिक सञ्जालमा अग्रगामी र जागरुक मानिसहरूले मात्र होइन, संसद्मा प्रमुख विपक्षी नेपाली कांग्रेसले आफूलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। साझा पार्टी बोल्यो, सबै बोले। यसअघि दलितमाथि हुने गरेका भेदभावहरू दलितहरूकै स्वरमा झिनो रूपमा सुनिने गरेको थियो। तर, यसपटक गैरदलितहरूको आवाज बुलन्द सुनियो। शर्मा जस्तै पूर्वप्रधानमन्त्री समेत रहिसकेका समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले त दलितमाथिको ज्यादतीमा गैरदलित समुदायका अग्रगामीहरूले प्रायश्चित गर्नुपर्ने प्रस्ताव नै गरेका छन्। उनले ट्वीटमा भनेका छन्, ‘हिन्दू परम्परामा पाप÷कुकर्म गरेपछि प्रायश्चित गर्ने चलन छ। दलितहरूमाथिको अमानवीय विभेद, छुवाछूत, बलात्कार, हत्याका निम्ति अब गैरदलितहरूमध्येका अग्रगामी सोच राख्नेहरूले सामूहिक प्रायश्चित गरौं। यो कुप्रथाको जरो वर्णाश्रम व्यवस्थालाई जरैदेखि उखेल्ने अभियान चलाऔं। नत्र ढिलो होला।’

पूर्वप्रधानमन्त्री भइसकेका गैरदलितको यो अभिव्यक्ति आफैंमा प्रायश्चितको पर्याय हो। हुन पनि उनको ट्वीटअघि नै चौरजहारीमा चेतनशील वर्ग र अग्रगामी विचार राख्नेहरूले आवाज बुलन्द गरेर एकप्रकारले गैरदलित समुदायले दलितमाथि गरेको विभेदको क्षतिपूर्ति नै तिरेका छन्। कांग्रेसका चर्चित युवा नेता गगन थापा हुन् वा नेकपाकी महिला नेतृ तथा सांसद् विन्दा पाण्डे; उनीहरूले चौरजहारी काण्डका अभियुक्तहरूलाई आफ्नै शैलीमा ललकारेका छन्।

नेपालमा जातपात र छुवाछूत विरुद्धको ७० वर्षको संगठित असंगठित अभियानको सारले भन्छ– दलितमाथि अत्याचार र भेदभावको अन्त्य दलित मात्र बोलेर हुन सक्दैन। जबसम्म विगतमा भेदभाव गर्दै आएको कथित छूत समुदायले नेपाली समाजलाई छुवाछूत मुक्त बनाउने अठोट गर्दैन तबसम्म छुवाछूत उन्मूलनका सारा प्रयास अहिले जस्तै कागज र औपचारिकतामा सीमित हुन्छन्। त्यसैले दलित संगठन, आन्दोलन र छुवाछूत उन्मूलनको सच्चा अगुवा खासमा गैरदलित समुदाय बन्न जरूरी छ। दलित संगठनको नेता बाहुन, क्षेत्री, मधेशी र जनजातिलाई बनाएर सामाजिक रूपान्तरणको अभियान चलाउँदा त्यो ज्यादै प्रभावकारी हुन्छ। दलित चाहिं बाहुन, क्षेत्री, मधेशी र जनजातिहरूको संगठन वा अभियानको नेता बन्नेतिर लाग्नु राम्रो। दलित–गैरदलितको सामाजिक अन्तरघूलनको आन्दोलन छुवाछूत व्याप्त रहेका नेपाल, भारतमा शुरू नै नभएकोले चौरजहारी काण्डहरू भइरहन्छन्।

पत्रकार, नेता, अधिकारकर्मी, सांसद् सबैको साझा अजेण्डा हुनुपर्छ दलितमाथिको अत्याचार र छुवाछूत मामिला। त्यसैले यसको जिम्मा समाज, देश र सिंगो मानव जातिले लिन जरूरी छ। एक दुई थान मन्त्री, सांसद्, एकाध करोडको प्रोजेक्ट अनि भोट बैंकको राजनीति गरिरहेका दलितकै अगुवाहरूले पनि आफ्नो कर्म, सोच, लक्ष्य बदल्न ढिलो भइसकेको छ। यथास्थितिमै आजको दलित अभियान रहने हो भने अरू १०० वर्षपछि पनि छुवाछूत रहिरहनेछ।चौरजहारीमा मारिएकामध्ये चार जनाको शव फेला परेको छ

चौरजहारीको बर्बरतामा पत्रकार, लेखक साहित्यकार, सांसद् लगायतको अग्रगामी पंक्ति बुलन्द रूपमा प्रस्तुत हुनु नेपाली समाजका लागि सुखद् प्रसंग हो। किनभने छुवाछूत राखेर नेपाली समाज सभ्य र समतामूलक हुन सक्दैन। दलित मामिलालाई गैरदलितले आफ्नो काँधमा राख्नु नितान्त नयाँ हो, देश र समाजलाई चाहिएको पनि यही नै हो। आगामी दिनमा जात, लिंग, धर्म वा क्षेत्र आदि जुनसुकै आधारमा गरिने विभेद र उत्पीडन विरुद्ध व्यापक सामाजिक जागरुकता र सक्रियता चाहिन्छ।

२०७२ को संविधानले जातीय छुवाछूतलाई वर्जित मात्र गरेको छैन, छुवाछूत निजी र सार्वजनिक दुवै स्थलमा गर्न नपाइने व्यवस्था गरेको छ। दलितको हकलाई मौलिक हकमै संविधानमा राखिएको छ। २०६८ सालमा संसद्ले बनाएको जातीय छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन अनुसार पनि छुवाछूत गर्नेहरू दण्डित हुनैपर्छ। २०६५ सालमा तत्कालीन संसद्ले एकमतबाट नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो।

दोस्रो पटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले २१ मार्च २०१९ मा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका दिन ‘म छुवाछूत गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भनेका थिए। तर, अहिले जातकै आधारमा यति जघन्य अपराध गर्दा प्रधानमन्त्री ओली यो आलेख तयार गर्दासम्म चूप नै छन्। देश बोलेको छ, समाज बोलेको छ। तर ‘अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ’ भनेर अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत गाउने ओली र नेकपाका नेताहरू चूप छन्। बालुवाटरमा ओली वंशको भेला गर्ने र भैंसी पूजा गर्नेहरूलाई जातीय भेदभावका आधारमा गरिएको यति ठूलो हत्याको निन्दा गर्दा ‘जात जाने’ डर होला।

सत्तारुढ नेकपाका सांसद् तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा संसदमा १३ जेठमा बोल्न चाहिं बोले तर उल्टो। संसद्मा विपक्षी सांसद् र सभ्य समाजलाई पाच्य नहुने गरी उल्टो बोलेका शर्माले मन्त्री र सांसद् हुँदा राम्रो काम गरेर कमाएको साख एकैपटक स्वाहा बनाएका छन्। त्यसैले होला १४ जेठमा नेकपाका नेता तथा कृषिमन्त्री घनश्याम भुसालले फेसबूकमा भनेका छन्, ‘नवराज विकको हत्यारा हाम्रो सामाजिक सांस्कृतिक संरचनामा खोज्नु हाम्रो नालायकी लुकाउने बहानाबाजी हो। यसको जिम्मा मूलतः हाम्रो राजनीतिले, राजनीतिक पार्टीले, राजनीति गरेको दाबी गर्ने हामी स्वयंले लिनुपर्छ।’

अहिलेको बालुवाटार होस् वा शीतलनिवास दलितका लागि करीब प्रवेश निषेध छ, सत्तामा यति ज्यादा नश्लवाद पञ्चायत र ०४६ पछिको बहुदलमा पनि हावी भएको थिएन। ६ जेठमा संसदले पारित गरेको नेकपा सरकारको नीति कार्यक्रममा दलितका लागि नीति होइन, दलित शब्द पनि परेको छैन। दलित समेतको भोट पाएर असाधारण बहुमत पाएको नेकपा दोहोरोको यस्तै रवैयाको प्रतिच्छायाँ हो चौरजहारी काण्ड। संसद्मा सांसदहरूले संसदीय छानबिन गर्न आग्रह गर्दा गर्दै सरकारले त्यसलाई बेवास्ता गरेर गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन टोली गठन गरिनु सन्देहपूर्ण छ। समाजका अग्रगामीहरुले नै चौरजहारीकाण्डका दोषी जोगाउन नेकपाका नेता र सत्ता अप्रत्यक्ष रुपमा सक्रिय भएको आशंका गरेका छन्। केही दिनमा यो प्रकरण निर्मला प्रकरण जस्तै सामसुम हुनसक्छ। तर, जे भए पनि चौरजहारी अधर्मको हिसाब अब दलितले भन्दा बढी अग्रगामी गैरदलितहरूले नै राख्ने पक्का छ। चौरजहारीमा नेकपाकै कार्यकर्ताले दलितमाथि अत्याचार गरेको तथ्य सार्वजनिक भइसकेको छ, सत्ता र सत्तारुढ नेकपा औपचारिक मौनताको कारण पनि यही नै हो।

यो प्रकरणमा मौन बस्नेहरू अरु पनि नभएका होइनन। सामाजिक सञ्जालमा दलितमाथि उल्टै छाद्नेहरुको संख्या पनि कम छैन। चौरजहारीको शोकमा सहानुभूति र आँशु होइन, खुशियाली व्यक्त गर्नेहरु पनि होलान्। त्यसैले दलितलाई हमेशा दलित नै बनाइराख्ने अभिव्यक्ति आइन नै रहेका छन्। तर, मौन बस्ने र दलितमाथिको अत्याचारलाई जायज ठान्नेहरूका सामु सत्य र न्यायको आवाज बुलन्द गर्ने सबै गैरदलित तथा न्यायप्रेमी जागरुकहरू स्तुत्य छन्। शायद दलित मामिला दलितको भन्दा अरूको सरोकार बनिसक्यो, देशको सरोकार बनिसक्यो। इतिहासमा पनि दलित लगायत सबै उत्पीडित जनतालाई मान्छेको हैसियतमा उकास्नका लागि लड्ने छविलाल पोखरेल, मोदनाथ प्रश्रितहरु गैरदलित नै थिए। फेरि गैरदलित जागेका छन् नेपाललाई छुवाछूत मुक्त बनाउन, दलितलाई न्याय दिलाउन।

यही सच्चाई बोध गरेर होला १४ जेठमा २१ नागरिक अगुवाले समेत चौरजहारीमा दलितमाथि भएको बर्बरताको निन्दा गरेका छन्। पूर्व सभामुख दमननाथ ढुंगाना, चिकित्सक अर्जुन कार्की, शिक्षाविद् केदारभक्त माथेमा, वरिष्ठ पत्रकारहरू राजेन्द्र दाहाल, कनकमणि दीक्षित, मानवअधिकारकर्मी सुशील प्याकुरेल लगायतले चौरजहारी काण्डलाई निन्दा गर्नु र न्याय र समानताको पक्षमा उभिनु नेपाली समाजका लागि सुखद् प्रसंग हो। कवि यादव खरेलले त कवितामै रुकुम काण्डमा रोष व्यक्त गरे।
***
महाभारतमा शकुनि आफ्नो तर्क पुष्टि गर्न र दुर्योधनलाई अपराध–कर्ममा प्रेरित गर्न प्रायः भन्छन्– धर्मको मार्गमा चल्नेमाथि हमेशा अधर्म हुन्छ मेरो बच्चा।

सत्य घटनामा आधारित भएका कारण महाभारतका कैयौं प्रसंग आज पनि व्यक्तिगत र सामाजिक जीवनमा यथार्थको नजिक छन्। श्रम, सीप, कला र मिहिनेत मार्फत यो देशको निरन्तर सेवा गरिरहेको तर, शासकीय र आधारभूत अधिकारबाट समेत तीन हजार वर्ष एकोहोरो वञ्चितीकरणमा परेको तथाकथित अछूतलाई अहिलेको संविधानले दलित पहिचान दिएको छ। दलित सम्मानबोधक वा अपमानको सूचक के हो? त्यो फरक विषय हो। तर, संविधानले दलित पहिचान दिएको समुदायलाई जंगबहादुरको १९१० को मुलुकी ऐनले पानी अचल जाति किटान गरेको थियो। राज्यको कानूनले नै निश्चित सामाजिक समूहलाई पानी अचल किटान गर्नु जति अधर्म के होला?

राज्यको कानूनबाट नै मानवीय हैसियतबाट वञ्चित गरिएको दलित समुदायले सामाजिक र शासकीय अपमान सहेर पनि देश र समाजलाई एकोहोरो सेवा गरिरहेको छ। आजसम्म दलितबाट समाज र राष्ट्रघात भएको छैन। देशका ठूला परिवर्तनको हरेक घुम्तीमा दलित समुदायबाट ज्यादै महत्वपूर्ण योगदान हुने गरेको छ। दलित अधर्मको मार्गमा चलेको छैन। बेलायती शासकलाई नेपाल आक्रमण गर्न आउँदा बाटो नदेखाएका कारण बांगे सार्कीको घाँटी रेटियो। देशभक्तिको यत्रो नमूना पेश गरेको जातिलाई सधैं अछूत बनाइयो। जन्मका आधारमा राज्य र समाजको ठूलो हिस्साबाट घोर अधर्म र अन्याय गरिंदै आएको छ।

नेपाल एकीकरणको वेला बिसे नगर्ची र मनिराम गाइनेले पृथ्वीनारायण शाहलाई सूचना र सल्लाह दिएर सघाए, २००७ सालको क्रान्तिपछि धनमानसिंह परियारले बीपी कोइरालालाई सघाए। २०४६ सालको जनआन्दोलनमा कैयौं दलितको शहादत भयो भने माओवादीको हिंसात्मक आन्दोलनमा दिलबहादुर रम्तेल र गुप्तबहादुर विश्वकर्माहरूले जीवन गुमाए। २०६२ का शहीदको सूचीमा दीपक कामी, सेतु विश्वकर्मा, चन्द्र बयलकोटी छन्। देश संघीयतामा जाँदा कैयौं जातिले आफ्नो जातिको नाममा राज्य माग गरे। तर १३.६ प्रतिशत जनसंख्या भएको र देशभरि नै छरिएको दलितलाई कुनै राज्य वा प्रदेश चाहिएन। चाहियो त केवल राज्यमा मूलप्रवाहीकरण र जातपात र छुवाछूतबाट मुक्ति।

प्रधानमन्त्री, राष्ट्रपति वा राज्यका ठूला पदमा दलितले अहिलेसम्म आँखा पनि लगाएको छैन। मन्त्री, सांसद् पाउनु नै दलितका लागि महान् उपलब्धि जस्तो भएको छ।

दलितले देशमा ठूलो पद पाएको इतिहास नै छैन, त्यसैले ठूलो भ्रष्टाचार गरेर डुबाउने औकात पनि दलितको छैन। यस्तो एउटा निरीह समुदाय जो कहिले राज्यबाट कानून नै बनाएर कहिले समाजबाट कानूनको धज्जी उडाएर अत्याचारको शिकार हुन्छ। तैपनि दलित चूपचाप माइतीघरमा उभिएर सानो स्वरमा ‘दोषीलाई कारबाही होस्’, ‘घटनाको छानबिन होस्’ भन्छ। संसद्मा कैयौं दलित सांसद् बालुवाटारका बाहुनहरूको अनुहार सम्झेर बोल्न डराएका छन्।

दासता र विभेदले मान्छेको सोचाइलाई करीब दास नै बनाएको हुन्छ। दलितले आफूमाथिको विभेद विरुद्ध आफ्ना लागि कुनै मौलिक क्रान्ति नगरेका र अरूकै खुशी र हितका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका कारणले होलाः आफूमाथिको अत्याचारलाई उनीहरूले स्वाभाविक ठाने लामो कालखण्डसम्म।

तर, महाभारतमा शकुनिले भने जस्तो धर्ममा चल्नेमाथि सदावहार अधर्म जारी राख्न चाहिं सम्भव हुँदैन। महाभारत युद्धमा अधर्मको पथमा चल्ने कौरवको विनाश हुन्छ र दलित जस्तै धर्मको मार्गमा चलेर पनि ज्यादै हण्डर–ठक्कर खाएका पाण्डवको जीत हुन्छ। समय बदलिएको छ। अब दलितलाई कानून, धर्मशास्त्र, परम्परा, प्रथा वा काइते तर्कका आधारमा अधर्म गरिरहन सम्भव छैन। सत्य र धर्मको जीत, अधर्म र पापको नाश। सृष्टिको प्राकृतिक नियमले यही नै भन्छ।

महाभारतमा सत्यवादी पाँचपाण्डवलाई भीष्मपितामह, विदुर, गुरु द्रोण र कृष्णहरूको साथ रहन्छ, ठीक त्यसैगरी धर्मको मार्गमा चल्दै आए पनि हमेशा अत्याचारको शिकार भएका हिजोका अछूत आजका दलित र भोलिका मानवहरूलाई पनि साथ दिने ठूलो गैरदलित पंक्ति तयार भइसकेको छ।

विख्यात लेखक जर्ज अरवेलले भने झै संसार नै महाझुठमा झुमेको बेला सत्य बोल्नु जति क्रान्तिकारी काम अरु हुँदैन। त्यसैले यो बेला धर्म, न्याय र सत्यका पक्षमा आवाज बुलन्द गर्ने सबै सबैलाई साधुवाद। न्याय र समानताको यात्रा जारी रहोस्।

LEAVE A REPLY