ट्रम्प प्रशासन संगठनबाट लगभग बाहिर रहेर सबै दिशातर्फ भारी तोपगोला वर्षाइरहेको छ। जसको प्रभाव सिमित मात्रै देख्न

0
50

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सभा हरेक वर्ष हुने गर्छ। तर, सामान्यतयाः प्रत्यक्ष रुपमा सम्बन्धित एउटा वृत्तबाहेक यो सभाले अरु कसैको ध्यान आकर्षित गर्दैनथ्यो।

तर, यसैसाता भएको डब्लूएचओको वार्षिक सभा चाहिँ बिल्कुल भिन्न रह्यो। यसपटक अमेरिकापछिको विश्व यहाँ स्पष्ट देख्न सकिन्थ्यो। यस्तो दृश्य विरलै देख्न पाइन्छ। यसको अर्थ अमेरिकाको अस्तित्व नै समाप्त भइसक्यो भन्ने होइन। तर, अमेरिकाले विश्वव्यापी नेतृत्वको सबै आकांक्षा त्यागिदिएको छ। विश्वका अगाडि प्रेरणा बन्ने काम छाडिसकेको छ।

दुःखको कुरा यो भर्खरै देखिन थालेको प्रवृत्ति हो।

यो भर्चुअल बैठकको पहिलो प्रमुख वक्ता थिए चिनियाँ राष्ट्रपति सी चिनफिङ। उनलाई सुन्न विश्वभरका सदस्य राष्ट्रका प्रतिनिधि बसेका थिए। सीको प्रस्तुति माझिएको, आत्मविश्वासपूर्ण र सम्भवतः प्रभावकारी थियो।

सीको भाषणमा चार वटा सन्देश थिए। पहिलो, चीनले कोरोना भाइरसलाई नियन्त्रण गरेर यो संकटबाट पार पाइसकेको छ। दोस्रो, बाँकी विश्वलाई र खासगरी अफ्रिकालाई सघाउन चीन तयार छ। तेस्रो, चीन पारदर्शितामा विश्वास गर्छ, त्यसैले यो संकट टरेपछि भाइरसको उत्पत्तिबारे अनुसन्धान र समीक्षा गर्न तत्पर छ। र चौथो, अब आविष्कार हुने खोपलाई संसारकै सामूहिक सम्पत्ति मानिनुपर्छ र यो सबैका लागि उपलब्ध हुनुपर्छ।

त्यसपछि युरोपबाट फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र जर्मन चान्सलर एन्जेला मर्केलले मन्तव्य दिएका थिए। उनीहरुले कोरोना भाइरसविरुद्ध डब्लूएचओको माध्यमबाट बलियो विश्वव्यापी सहकार्य हुनुपर्ने सन्देश दिए। दुवैले खोप सबैका लागि उपलब्ध हुनुपर्ने बताए।

महामारी रोकथामको विषयमा बृहत् समीक्षाका लागि विश्वभर एउटै मत सिर्जना गर्न युरोपेली संघले होसियारीपूर्वक कुटनीतिक सक्रियता देखायो। सो प्रस्तावको मस्यौदा यसरी बन्यो, जसलाई धेरै मुलुकले समर्थन गरे।

चीनमा र अन्यत्र महामारीको सुरुमा के भयो, त्यसबारे समीक्षा हुनुपर्छ भन्ने आवाज पहिलो पटक अस्ट्रेलियाले केही साताअघि उठाएको थियो। सो प्रस्तावले बेइजिङलाई आक्रोशित तुल्याएको थियो।

तर, युरोपेली संघले त्यस्तो समीक्षाबारे एकदमै कुटनीतिक भाषा छनोट गर्न सफल भयो। त्यसैले समीक्षाको संकल्प पारित भयो र अस्ट्रेलिया पनि त्यसको प्रस्तावक बन्यो।

यो विषय कुन दिशातर्फ सोझिएको छ, चीनलाई राम्ररी थाहा थियो। विश्वव्यापी स्वास्थ्य सहकार्यमा ऊ आफूलाई जिम्मेवार पक्षका रुपमा उभ्याउन चाहन्छ। त्यसैले यो प्रस्तावविरुद्ध उसले विरोध जनाएन र संकल्प प्रस्तावलाई स्वीकार गर्‍यो।

यो सभामा अमेरिकाको पनि उपस्थिति छ है भन्ने थाहा पाउन लामो समय लाग्यो। विश्वभरका मन्त्रीहरुले चार घण्टासम्म भाषण गरेपछि अमेरिकाको पालो आयो। त्यतिञ्जेल अमेरिकाको नाम पनि कसैले लिएन। अमेरिकाका तर्फबाट स्वास्थ्य तथा मानव संसाधनमन्त्री एलेक्स अजारले आफ्नो भनाइ राखेका थिए। तर, बाँकी सबैको भाषणभन्दा उनको भाषणको लय अलग्गै थियो। उनको कुरा सुन्दा अमेरिका भाइरससँग भन्दा चीनसँग लड्न बढी इच्छुक छ भन्ने महसुस हुन्थ्यो।

सभामा ताइवानको पनि सहभागिता हुनुपर्छ भन्ने अमेरिकी भनाइमा गठबन्धनभित्रका अन्य केही मुलुकको पनि समर्थन थियो। तर, यो विषयलाई अहिले होइन, पछि उठाउनु ठिक हुन्छ भन्नेबारे अरु सबैमाझ समझदारी थियो।

ठिक त्यतिबेलै विश्व स्वास्थ्य संगठनको सभाभन्दा बाहिर पनि ट्रम्प प्रशासनले चीन र डब्लूएचओविरुद्ध ठुल्ठूला आरोपहरु लगायो। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाभित्रै डब्लूएचओ छाड्ने धम्की पनि दिए। डब्लूएचओबाट अमेरिका बाहिरिनु सबैका लागि दुःखद् कुरा हो। तर, विश्व स्वास्थ्य संगठनको यो सभालाई राम्ररी नियाल्ने जोसुकैले अमेरिका यसबाट बाहिरिसकेको महसुस गरे।

यहाँ अमेरिकापछिको संसार स्पष्ट देखिन्थ्यो। चीन आक्रामक र आत्मविश्वासपूर्ण थियो। युरोप विश्वव्यापी सहकार्यलाई जति सकिन्छ त्यति बचाउन प्रयासरत छ। र, ट्रम्प प्रशासन संगठनबाट लगभग बाहिर रहेर सबै दिशातर्फ भारी तोपगोला वर्षाइरहेको छ। जसको प्रभाव सिमित मात्रै देख्न सकिन्छ।

युरोपेली संघको नेतृत्वमा मस्यौदा भएको संकल्प एकमतले पारित भएको यथार्थलाई अन्ततः अमेरिकाले स्वीकार्नैपर्ने हुन्छ। यस्तो ठूलो कुटनीतिक भेलामा अमेरिका यसअघि विरलै यतिधेरै एक्लिएको थियो। संसार अमेरिकाको नेतृत्वमा रहने गथ्र्यो। उसको नेतृत्वलाई थुप्रैले राम्रो भन्थे, केहीले खराब। तर, यतिबेला भाइरससँग लड्नुपर्ने आपतकालीन अवस्थामा संसार जसरी पनि अघि बढ्नै पर्ने थियो।

LEAVE A REPLY