
बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादन कम्पनी एस्ट्राजेनेका मिलेर बनाएको कोरोना खोप यसै वर्ष आउने सम्भावना अझै रहेको दाबी गरिएको छ।
खोपको अन्तिम परीक्षण क्रममा यो लगाउने एक व्यक्ति बिरामी परेपछि केही समयका लाग परीक्षण नै स्थगित गरिएको छ। जसका कारण बजारमा विभिन्न आशंका व्याप्त भएपछि एस्ट्राजेनेका कम्पनीले निराश नहुन आग्रह गर्दै खाेप यसै वर्ष आउने सम्भावना अझै रहेको बताएकाे हाे।
कम्पनीका अनुसार बिरामी ती व्यक्ति खोप लगाएकै कारणले बिरामी भएका हुन् वा अन्य कारणले भन्नेबारे परीक्षण भइरहेको र चाँडै टुंगोमा पुगिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा खोप उपलब्ध गराउन सम्भव छ।’
अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको खोप विश्वमा अन्तिम अवस्थामा परीक्षणमा रहेका नौखोपमध्ये एक हो भने चाँडै बजारमा उपलब्ध हुने आशा गरिएको खोप पनि हो।
कम्पनीले अमेरिकाका दर्जनौं स्थानमा ३० हजार अमेरिकीसहित ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा खोपको अन्तिम परीक्षण गरिरहेको छ। एजेन्सी