प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर ठाँटको जीवन बाँचिरहँदा भक्तपुर मनोहरा नजिक सुकुम्बासी बस्तीमा डेरा जमाएका सुवास गोले औषधि किन्नै नसकेर छटपटाइरहे

0
72

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर ठाँटको जीवन बाँचिरहँदा भक्तपुर मनोहरा नजिक सुकुम्बासी बस्तीमा डेरा जमाएका सुवास गोले औषधि किन्नै नसकेर छटपटाइरहेका छन् । नियमित डायलसिस गरिरहेका उनीसँग औषधि किन्ने वा मिर्गौला प्रत्यारोपण गर्ने पैसा हुँदो हो त संभावित मृत्युलाई पर धकेल्ने थिए होलान् । कलिलो छोरी र निरिह श्रीमतीका निम्ति आड–भरोसा बन्थे होलान् । तर, उनीसँग उपचार खर्च त के सुकुम्बासी बस्तीमा ओत लाग्ने खर्च पनि छैन ।

उनी आफ्नो दुःखव्यथा सुनाइदिन हारगुहार गरिरहेका हुन्छन्, ताकि मनकारीहरुले दिने दुई–चार रुपैयाँबाट औषधि किन्न सकियोस् । तर, कहिलेसम्म यसरी जीवनको भिख मागिरहने ?

सुवास गोले एक प्रतिनिधि पात्र हुन्, जो औषधि–उपचारकै अभावमा छटपटाइरहेका छन् । उनी जस्ता थुप्रै गरिब–असाह्य जीवन रक्षाका लागि हारगुहार गरिरहेका छन् । सडकदेखि सामाजिक सञ्जालसम्म यस्ता हजारौं–हजार पात्र भेटिन्छन्, उपचार खर्चका लागि अरुसामु याचना गरिरहेका ।

औषधि–उपचारको गर्न नसक्ने भएकाले कतिपयले रोग पालेर बसेका छन् । अस्पताल र औषधि किन्नै नसक्ने अवस्थाकाहरु रोग र व्यथा सहेर बसिरहेका छन् । औषधि र उपचारको बिल भुक्तान गर्न नसकेर कतिपय अस्पतालको शैयामा नै बन्धक भएका छन् । कतिपयले उपचार खर्च तिर्न नसकेपछि अस्पतालको छतबाट हाम फालेर आत्महत्या गरिरहेका छन् । घर–खेत सिध्याएर पुस्तौका लागि ऋणै–ऋणको बोझ बोकिरहेका छन् । गरिब सर्वसाधरणको यस्तो बेहाल छ ।

अर्कोतिर नेता–मन्त्रीहरु औषधि–उपचारकै नाममा विदेश सयर गरिरहन्छन् । आफन्त, नातेदार, कार्यकर्तालाई ‘औषधि–उपचार’को नाममा राज्यको ढुकुटीबाट लाखौं–करोडौं खर्च गरिरहेका छन् ।

अनुदार राज्य

सर्बसाधरणले जंगलबाट खोजेर ल्याएको एक मुठो निगुरोमा समेत कर उठाउने सरकार उनै सर्वसाधरणको स्वास्थ्य–सुरक्षामा कतिपनि उत्तरदायी छैन । आफ्नो बलबुतोले उब्जाउ गरेर बेच्न राखिएको सागसब्जीबाट समेत राज्यलाई कर बुझाइरहेका सर्वसाधरण जब रोगले थलिन्छन्, औषधि–उपचारका लागि भिख माग्नुपर्ने बाध्यतामा पुग्छन् ।

गाडीमा एक किलोमिटर यात्रा गर्दा होस् वा किराना पसलबाट एक झोला सरसामन गरिद गर्दा । होटलमा एक थाल खाना खाँदा होस् वा सानो घरेलु उद्योग गर्दा नै । सामान्य रोजगरी गर्दा होस् वा विदेशमा श्रम बेच्न जाँदा, सर्वसाधरणबाट राज्यले कुनै न कुनै रुपमा पैसा असुल्छ ।  एउटा व्यक्तिले पाएको पुरस्कारको रकम समेत राज्य–कोषमा कटौती हुन्छ । तर, त्यही नागरिकको अशक्त भएमा, रोगी भएमा, उपचार गर्नुपर्ने भएमा राज्यबाट आड–भरोसा पाउँदैनन् । रोग लागेपछि औषधि–उपचारका लागि ऋण काड्नुपर्ने अवस्थामा पुग्छन् । घर खेत बेच्नुपर्ने अवस्थामा पुग्छन् । सबै रित्याएर सडक किनारमा भिख माग्नुपर्ने अवस्थामा पुग्छन् ।

वैदेशिक रोजगारीमा गएकाहरु नै मनकारी

जब एक सर्वसाधरण ‘मलाई बचाउनुहोस्’ भन्दै विलौना गर्नुपर्ने वाध्यतामा पुग्छन्, उनीहरुको विलौना राज्यले सुन्दैन । नेता–मन्त्रीले सुन्ने कुरै भएन । कथित समाजसेवीहरुले सुन्दै–सुन्दैनन् । धनीमानीहरुले पनि सुन्दैनन् ।

रोगले थलिएका र उपचार अभावमा छटपटाइरहेका उनीहरुको विलौना सुन्ने भनेका उनीहरु जस्तै सर्वसाधरण हुन्, जो दैनिक ज्यालादारी गरेर वा विदेशमा श्रम गरेर बसिरहेका छन् । उनीहरुले आफ्नो गाँस र छाक कटाएर पनि सहयोग जुटाइदिने गरेका छन् । सामाजिक सञ्जालमार्फत अभियान चलाएर भएपनि पैसा संकलन गर्छन् र भरपर्दो माध्यामबाट सम्बन्धित व्यक्तिको हातमा पु¥याउँछन् ।

स्वदेशमै अनेक हन्डर खाएर, सरकारी झन्झट झेलेर, दलालको फन्दामा पेलिएर, श्रम भिषामा विदेश पुगेर विशुद्ध पसिना र श्रमबाट दुई गाँस जुटाइरहेकाहरुले नै असक्त गरिब, रोगीहरुको सहयोगमा निस्वार्थ भावले अघि सर्ने गरेका छन् ।

अस्पतालमा गरिबलाई प्रवेश निषेध

शहर केन्द्रित ठूल–ठूला अस्पताल छन् तर, त्यसको ढोका गरिबका लागि खुला छैन । गाउँ–गाउँमा स्वास्थ्य सेवा पुगेकै छैन । एक पुरिया जीवनजल र एउटा सिटामोल किन्न समेत घण्टौं हिँड्नुपर्ने बाध्यता छ । भएका स्वास्थ्य चौकी र सरकारी अस्पताल लथालिंग छन् । न त्यहाँ दक्ष स्वस्थ्यकर्मी पुग्छन्, न पुग्दो स्वास्थ्य उपकरण हुन्छ, न आवश्यक सेवा–सुविधा नै । निजी अस्पताल, मेडिकलको स्वास्थ्य उपचार धान्नै सकिदैन । यी अस्पतालहरु रोगीलाई कसरी सिघ्र र भरपर्दो उपचार दिने भन्दा पनि कसरी पैसा असुल्ने भन्नेमा केन्द्रित छन् ।

निजी अस्पतालको स्वास्थ्य–सेवा सर्वसाधरणको पहुँचमा छैन, सरकारी अस्पतालको स्वास्थ्य सेवा भरपर्दो र छरितो छैन ।

LEAVE A REPLY