
राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) टि–२० खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। उनी भोलि(बिहीबार) बिहान १० बजे कोरियन एयरलाइन्सको विमानबाट अमेरिका हुँदै आयोजनास्थल वेस्टइण्डिज प्रवेश गर्ने भएका हुन।
आगामी भदौ २ देखि २५ गतेसम्म हुने सीसीएलका लागि सन्दीप शुक्रबार आयोजनास्थल पुग्ने उनका व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जानकारी दिए। सीपीएल सहभागिता निश्चित भएपछि सन्दीपले बुधबार नै कोरोना संक्रमण रहे/नरहेकोबारे पुष्टि गर्न पीसीआर परिक्षण गरेका थिए।
कोरोना भाइरस महामारीको कारण सरकारले आगामी भदौ १ गतेसम्म अन्तर्रािष्ट्रय उडान बन्द गरेकाले उनी प्रतियोगितामा सहभागिताका लागि जाने-नजानेमा अन्यौल रहँदै आएको थियो।
गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई एक करोड भन्दा बढी रकममा जमैका तलावाजले अनुबन्ध गरेको थियो।
सिपिएलमा लिग चरणमा हरेक दिन दुई खेल हुनेँछ। जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्ने छ।
२० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्स, २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने तालिका छ। २५ अगष्टमा पुन गुयानासँग, २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
२९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने सन्दीपको टोलीले सेप्टेम्बर १ मा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ। ३ सेप्टेम्बरमा पेट्रीयट्स, सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध र लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ।
६ टोलीले प्रतिस्पर्धा गर्ने सीपीएलमा शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल सेप्टेम्बर १० मा हुनेछ।